हाम्रो बारेमा

हाम्रो बारेमा

वैदिक आर्य संस्कृतिका अनुयायी सनातन धर्मालम्बी सवर्णहरूका अनेकौं थरहरूमध्ये ‘काफ्ले’ थर पनि एक हो । वैदिक आर्यमूलका शाण्डिल्य गोत्री ब्राह्मणहरूले नेपाल सरहदभित्र प्रवेश गरेपछि आर्जन गरेका थरहरूमध्ये ‘काफ्ले’ थर पनि एउटा हो । काफ्लेका आदि पुर्खाहरूमा वेद विद्याका ज्ञाता यज्ञनिष्ठ कर्मनिष्ठ शाण्डिल्य वंशी ब्राह्मणहरू थिए । अग्निका आत्मज भएकाले धर्मनिष्ठ काफ्लेहरूले आदि पुर्खादेखि नै पुर्खौली बपौतीका रूपमा अग्निहोत्र कर्म अपनाउँदै पुरोहित्याईं कर्म गर्दै आएका छन् । आदि पुर्खा सहित सकल काफ्लेहरू सुसभ्य, सुसंस्कृत, कर्मनिष्ठ विद्यावान विशेषताका साथ कर्मठ गोचारक कृषक थिए ।

काफ्ले र काफ्लेका पूर्व पुर्खाहरू गाईमा सबै तीर्थको बास हुन्छ, गंगा–जमुना, सरस्वती गाईमा नै छन्, गाईको दूध, दही, घ्यूबाट देव भक्तहरूलाई पुष्टि दिने शक्ति हुन्छ र गाईको गोबरमा समेत लक्ष्मीको बास रहन्छ भन्ने मान्यता राख्दथे र गाईलाई परम हितकारी सहयात्री र पशुधनको रूपमा पाल्ने, पोस्ने, सेवा गर्ने हुनाले गाचारक पनि कहलिन्थे । काफ्लेका आदि पुर्खाले गोसेवा र गोरक्षालाई पुनीत कर्म सम्झी आफूलाई भौतिक तवरमा तल्लिन गराए झैँ सम्प्रति काफ्लेहरूमा पनि गोसेवा र गोरक्षाका खातिर आफूलाई ने उत्सर्ग गराउन अग्रसर हुने दृष्टान्त पाइन्छ ।

संक्षेपमा भन्नुपर्दा काफ्लेहरू नेपाल सरहदभित्र पसी पर्वतीय गोचारक÷कृषि कर्म अँगाल्दै अघि बढेर काफ्ले थर आर्जन गरेका महर्षि शाण्डिल्यका सन्तती क्रम हुन् । नेपाल सरहदभर र नेपाल बाहिर पनि समानपारिस्थितिक परिवेश र पर्यावरण एवम् मिल्दो जुल्दो सामाजिक धार्मिक वस्तुस्थिति पाइने पूर्वोत्तर भारत, भुटान, म्यानमार (बर्मा) आदि देशहरूमा समेत पुगेर रहेका छन् ।