सक्रान्ति बजार । तेह्रथुम जिल्लाका विभिन्न पालिकामा बसोबास गर्नुभएका काफ्ले बन्धुहरुको जेठ १७ गते आइतबार सक्रान्ति बजारको मुसेगैह्रामा भएको भेलाले हरिप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
आठराई–तेह्रथुम काफ्ले समाजको नामबाट विगत लामो समयदेखि संगठित हुँदै आउनु भएका बन्धुहरुले काफ्ले समाजको विधान २०५९ अनुरुप काम गर्ने गरी जिल्ला नेतृत्व चयन गरेको हो ।
काफ्ले समाजका केन्द्रीय महिला उपाध्यक्ष दुर्गादेवी खनाल काफ्लेको प्रमुख आतिथ्य तथा आठराई–तेह्रथुम काफ्ले समाजका अध्यक्ष भिमप्रसाद काफ्लेको अध्यक्षतामा भएको भेलाले आठराईका हरिप्रसाद काफ्लेको अध्यक्षतामा तह्रथुम जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
काफ्ले समाजका केन्द्रीय सचिव गोपाल काफ्लेले समाजका विभिन्न कार्यक्रमहरु बारे जानकारी गराउँदै, आजीवन सदस्यताको अवस्था र बन्धुहरुको एकीकृत अभियान बारे सहजीकरण गर्दै समाजको विधान अनुसार संस्थागत रुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।
हालसम्म आठराई–तेह्रथुम काफ्ले समाज भनिएको तर जिल्लाको ठेगाना अघिपछिमात्रै भएकाले काफ्ले समाज तेह्रथुम जिल्ला कार्यसमितिकै रुपमा विगतबाट भएका कामहरुलाई अनुमोदन गर्दै भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।
कोशी प्रदेश कार्यसमितिका उपाध्यक्षद्वय होमप्रसाद काफ्ले र टुम्मनाथ काफ्ले तथा झापा जिल्ला अध्यक्ष नारायणप्रसाद काफ्लेसहितको उपस्थितिमा भएको भेलाले तेह्रथुम जिल्ला कार्यसमितिको उपाध्यक्षमा आङबुङका विष्णु काफ्ले र महिला उपााध्यक्षमा आठराईका सुनिता रेग्मी काफ्लेलाई चयन गरेको हो ।
यस्तै समाजको जिल्ला सचिवमा आठराईका दिपक काफ्ले र कोषाध्यक्षमा आठराईकै देवीप्रसाद काफ्ले चयन हुनुभयो । कार्यसमितिको सदस्यहरुमा आठराईका तुलसी, तीर्थराज, युवराज, योगेश र पुरानो गाउँका हरिप्रसाद काफ्लेलाई चयन गरियो ।
बाँकी पदाधिकारी र सदस्यहरु बन्धुहरुको बसोबास रहेको पालिकाको प्रतिनिधित्व रहने गरी क्रमशः पूर्णता दिने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष हरिप्रसादले प्रतिवद्धता मन्तब्य राख्दै काफ्ले समाज केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको मार्गदर्शनमा जिल्लाका क्रियाकलापहरु सञ्चालन गर्ने बताउनु भयो । केन्द्रले सुरु गरेको रचनात्मक काममा तेह्रथुमले विगतमा पनि साथ दिएको र निरन्तर सहकार्य गर्ने उहाँको प्रतिवद्धता छ ।